काठमाडौं :आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा अन्तिम खेलमा आज शनिबार नेपालले आफ्नो निर्णायक खेल नेदरल्यान्ड्ससँग खेल्दैछ। नेपाल र नेदरल्यान्ड्सको खेल जिम्बाब्बेको टाकासिंगा स्पोर्टस् क्लबमा नेपाली समय अनुसार दिउँसो पौने १ बाट सुरु हुनेछ।
तीन खेल खेलेको नेपाललाई शीर्ष तीनमा रहन जित्नै पर्ने दबाब छ। नेपाल पराजित भए बाहिरिनेछ। आज नेपालले जितेमा र अन्तिम खेलमा पर्सि सोमबार नेदरल्यान्ड्स वेस्ट इन्डिजसँग पराजित भए नेपाल सुपर सिक्समा पुग्नेछ।
नेपालले ३ खेलमा २ अंक जोड्दा नेदरल्याण्ड्सले २ खेलबाट २ अंक जोडेको छ। नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो। दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको नेपाल अर्को खेलमा वेस्ट इन्डिजसँग १०१ रनले पराजित भएको थियो।
नेदरल्यान्ड्सले पनि अमेरिकालाई ५ विकेटले हराउँदा जिम्बावेसँग भने ६ विकेटले पराजित भएको थियो। नेदरल्याण्डस्ले नेपाल र वेष्ट इन्डिजसँग खेल्न बाँकी छ।
समूह ‘ए’ मा दुवै खेल जितेका वेष्ट इन्डिज पहिलो र जिम्बावे दोस्रो स्थानमा छन्। नेदरल्याण्ड्सले २ खेलमा २ अंक जोडेर तेस्रो स्थानमा छ भने, ३ खेलबाट २ अंक जोडेको नेपाल चौथो र अंकविहीन अमेरिका पाँचौ स्थानमा रहेका छ।



