काठमाडौं : आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको सातौं स्थानका लागि आज मंगलबार नेपालले आयरल्यान्डसँग सामना गर्दैछ। नेपाल र आयरल्यान्डबीचको खेल टाकासिंगा स्पोर्ट्स क्लबमा नेपाली समयअनुसार पौने १ बजे सुरु हुनेछ। नेपालले आयरल्यान्डसँग पहिलो पटक खेल्न लागेको हो।
छनोट समूह अन्तर्गतबाट सुपरसिक्समा पुग्न असफल भएपछि नेपाल र आयरल्यान्ड दुवै सातौं स्थानको प्लेअफमा धकेलिएका थिए। प्लेअफमा नेपालले युएई र आयरल्यान्डले अमेरिकालाई पराजित गर्दै सातौं स्थानको प्लेअफमा भेट पक्का गरेका थिए।
समूह ए मा रहेको नेपालले यसअघि घरेलु टोली जिम्बाब्वे र दुई पटकको विश्वकप विजेता वेष्ट इन्डिजसँग खेलिसकेको छ। दुवै टोलीसँग नेपाल पराजित भएको थियो। यस्तै,नेपालले जारी विश्वकप छनोटमा तेस्रो पटक टेष्ट मान्यता टोलीसँग खेल्दैछ। जुन नेपालको लागि अर्को महत्वपूर्ण अवसर समेत हो।



