काठमाडौं: धितोपत्र बोर्डले घोराही सिमेन्टको आइपिओ पुनः खोल्न सकिने व्यवस्था गरिदिएको छ। सोभन्दा पहिले हाल कम्पनीमा आवेदन दिएकाहरूले लगानी झिक्न वा थपघट गर्न तीन दिनको समय पाउनेछन्।
यस्तो समयपछि कम्पनीले अर्को सात दिनसम्म आइपिओ खुला राख्न सक्ने व्यवस्था धितोपत्र बोर्डले गरिदिएको हो। बिक्री प्रबन्धकले सूचना जारी गरेर लगानीकर्तालाई समय दिनेछ।
बोर्डले कम्पनीको आइपिओमा आफ्नो खातामा भएकोभन्दा धेरै रकमको आवेदन हालेकालाई भने जालसाजी मुद्दामा छानबिन गर्न प्रहरीलाई पठाउने भएको छ।
गोरखाकी सावित्रा पराजुली, रूपन्देहीकी लक्ष्मी घिमिरे, मोरङकी मुना खत्री र चितवनका मनोज पाठकले यसरी खातामा पर्याप्त पैसा नै नभई आवेदन दिएका हुन्। यी व्यक्तिहरूले १० लाख कित्ताको दरमा आवेदन दिएका थिए।
खातामा पर्याप्त रकम नभई १० लाख कित्तासम्म आवेदन दिने अन्यमा सुनसरीका मिथिलेश कुमार मेहता, दोलखाका नवीन खत्री, ललितपुरका अनिल राना, पर्वतकी रञ्जना ढकाल पौडेल र काठमाडौंकी सुमित्रा बम रहेका छन्।
बोर्डले अनुसन्धानका लागि भन्दै असार ४ गते कम्पनीको सेयर निष्कासन प्रक्रिया तत्काललाई रोक्का गरेको थियो।बोर्डले आइपिओ खुला भए पनि बढी आवेदन दिएका लगानीकर्ता, एनआइसी एसिया बैंकमा खाता रहेका तर रकम नभएर पनि धेरै आवेदन दिएकाहरूको आवेदन स्वीकृति प्रक्रियाबारे अध्ययन चलिरहने बताएको छ।
त्यस्तै, निष्कासन तथा बिक्री प्रबन्धकले मागभन्दा बढी आवेदन परेको अवस्थामा पनि समय थप गरिने उल्लेख गरेको छ। तर बोर्डले क्रेडिट रेटिङ सम्बन्धमा के हुने भनेर खुलाएको छैन। कम्पनीको सेयरमा ५ लाख ६२ हजारभन्दा धेरैले ९ अर्ब ८३ करोड रूपैयाँ बराबर रकमको आवेदन दिएका थिए।



