२५ असार, काठमाडौं : १३ जुलाई देखि श्रीलंकामा सुरु हुने इमर्जिङ टिम्स एसिया कप क्रिकेट खेल्न जाने नेपाली टोलीलाई नेपाल क्रिकेट संघ क्यानले एक कार्यक्रमको आयोजना गरी टोलीको बिदाइ गरेको हो।इमर्जिङ टिम्स एसिया कप जुलाई १३ देखि २३ सम्म श्रीलंकामा हुँदैछ र नेपाली टोली आजै श्रीलंका प्रस्थान गर्ने छ।
इमर्जिङ कपको समूह बी मा नेपाल, युएई, पाकिस्तान ए र भारत ए छन् भने समूह ए मा श्रीलंका ए, बंगलादेश ए, अफगानिस्तान ए र ओमान छन्। यस्तै, नेपालले पहिलो खेल जुलाई १४ मा पाकिस्तान ए सँग खेल्नेछ भने दोस्रो खेल जुलाई १७ मा भारत ए सँग र तेस्रो खेल जुलाई १९ मा युएईसँग खेल्नेछ। यसअघि टोलीमा समावेश गरिएका आरिफ शेखले पारिवारिक कारण आगामी बिहीबारबाट सुरु हुने इमर्जिङ कपमा सहभागी नहुने भएका छन्। आरिफ नखेल्ने भएपछि उनको स्थानमा पवन सरार्फले मौका पाएका छन्।
रोहित पौडेलको कप्तानीमा नेपाली टोलीको घोषणा भएको छ जसमा देव खनाल, श्याम ढकाल, सूर्य तामाङ र सन्दीप जोराले टिममा स्थान बनाएका छन्। यस्तै, टिममा रोहित कुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, कुशल मल्ल, पवन सरार्फ, देव खनाल, गुल्सन झा, सोमपाल कामी, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी र किशोर महतो रहेका छन्।
यस्तै, ज्ञानेन्द्र मल्ल र करण केसी टिममा छैनन्। सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरी ग्लोबल टी २० लिग क्यानडा खेल्न जाने भएकाले टिममा छैनन्।



