असार २५,काठमाडौं : चान्द्रमासअनुसार साउनको पहिलो सोमबार आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ। यसवर्ष अधिकमास परेकाले भक्तजनको चान्द्रमास अनुसारको पहिलो सोमबारदेखि नै भीड लागेको हो।
यसवर्ष सौरमासअनुसार साउन १ गते सोमबार मात्र अधिकमास नपर्ने सोमबार रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।साविकअनुसार बिहान ४ बजे पशुपतिनाथ मन्दिरका ढोका खोल्दा भक्तजनको भीड लागिसकेको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिनु भयो।
अहिले पनि पशुपति क्षेत्रमा पूजा, आराधना एवं दर्शनका लागि हजारौँ भक्तजन लामबद्ध छन्। पशुपतिसँगै देशभरका शिवालयमा आज बिहानैदेखि भक्तजनको भीड लागेको छ। शिवालयमा विशेषगरी साउने सोमबारको व्रत लिने महिलाको भीड लागेको छ।
राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेवस्थानलगायत महादेव मन्दिरमा भक्तजनको भीड लागेको छ।



