असार २९,काठमाडौं:संक्रामक बन्दै गएको लम्पी स्किन रोगबारे संसद्लाई जानकारी गराउन सभामुख देवराज घिमिरेले सरकारलाई रूलिङ गर्नु भएको छ । प्रतिनिधि सभामा शुक्रबार पनि सांसदहरूले लम्पी स्किन रोगबाट २७ हजार पशुचौपाया मरेको भन्दै कुरा उठाएका थिए।
त्यसपछि सभामुख घिमिरेले सम्बन्धित मन्त्रीलाई यससम्बन्धमा स्पष्ट पार्न र सरकारले रोगको रोकथामको लागि गरेका कार्यहरूको बारेमा सदनलाई जानकारी गराउन रूलिङ गर्नु भएको हो । लम्पी स्किन भन्ने रोगको सन्दर्भमा विगतका बैठकहरूदेखि आजका बैठकमा पनि माननीय सदस्यहरूबाट कुरा उठिरहेको छ।
यससम्बन्धमा स्पष्ट पार्न र सरकारले यो रोगको रोकथामको लागि गरेका कार्यहरूको बारेमा सदनलाई जानकारी गराउन सम्बन्धित मन्त्रीलाई म निर्देषित गर्छु,’उहाँले शुक्रबारको बैठकमा भन्नु भयो ।
शुक्रबारको बैठकमा एमाले प्रमुख सचेतक पदम गिरीले पशुचौपायामा संक्रामक ढंगले फैलिइरहेको लम्पी स्किनप्रति सरकार उदासीन रहेको बताएका थिए। सांसद गिरीले ८ लाख पशुचौपायामा फैलिएको र २७ हजार पशुचौपाया मरिसक्दा पनि सरकारले रोकथामका लागि पहल गर्न नसकेको बताएका थिए।
‘रोपाइँको बेला छ। गोरूहरू बिरामी भएकाले खेत बाँझै छ । ४ महिनायता फैलिएको लम्पी स्किनले किसानहरू रोइरहेका छन्। पीडाको आहालमा छन्,’ उनले बैठकमा भने, ‘बेलैमा रोकथाम नगर्ने हो भने २५ लाख पशुचौपाया संक्रमित हुने र १ लाख पशु मर्ने विज्ञहरूले बताइरहेका छन्।’
उनले सरकारले अहिलेसम्म २ लाख २२ हजार पशुलाई मात्रै खोप लगाएको र खोपको परिमाण अपर्याप्त रहेको बताए।त्यस्तै उनले खोप लगाउने कार्य सुस्त भएको पनि बताए।
‘



