साउन१,काठमाडौं :वाणिज्य बैंकहरूले साउन १ गतेदेखि लागु हुने ब्याजदर सार्वजनिक गरेका छन् । सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये केहीले हाल दिँदै आएको ब्याजदरभन्दा घटाएका छन् । केहीले बढाएका छन् ।
यसअघि २० वाणिज्य बैंकले नै व्यक्तिगत मुद्दती निक्षेपमा ९.९९ प्रतिशत ब्याज दिँदै आएका थिए । साउनबाट वाणिज्य बैंकहरूले आफ्नै किसिमले ब्याजदर घटबढ गरेका छन् ।
ब्याजदर बढाउनेमा एनएमबि, एनआईसी एसिया, प्राइम कमर्सियल, नबिल र कुमारी बैंक छन् । यी पाँच बैंकले ब्यक्तिगत मुद्दती निक्षेपमा बढी ब्याज दिएसँग यी बैंकबाट प्रवाह हुने कर्जाको ब्याजदर पनि महँगिने छ । यसअघि वाणिज्य बैंकहरूले ब्यक्तिगत निक्षेपमा दिने ब्याजदर एउटै थियो ।
वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघले भद्रसहमति तोडेपछि बैंकहरूले आफ्नै हिसाबले ब्याजदर तोकेका हुन् ।



