काठमाडौँ : आगामी फागुन २१ गतेदेखि रिक्त हुने १९ राष्ट्रियसभा सदस्यका लागि आज निर्वाचन हुँदैछ। कानुनतः पदावधि सकिनु ३५ दिन अगावै निर्वाचन गर्नुपर्ने व्यवस्था छ। प्रदेशसभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्ने यस निर्वाचनमा आज बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म सम्बन्धित प्रदेशको तोकिएका मतदान स्थल तथा मतदान केन्द्रमा मतदान हुनेछ।
निर्वाचन आयोगका अनुसार निर्वाचनमा प्रदेशसभाका सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्रको व्यवस्था गरिएको छ।
निर्वाचनमा प्रदेशसभाका सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डल रहनेछ। राष्ट्रियसभा सदस्यको पदका लागि मतदाता रहेका प्रदेशसभा सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मत भारका दरले गणना हुनेछ।
निर्वाचनमा हाल कायम प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुख गरी २ हजार ४७ मतदाता गरी कूल मत भार ५७ हजार ५ सय ५९ हुनेछ। हाल कायम प्रदेशसभा सदस्य ५ सय ४९ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी १ हजार ९ सय ९८ मतदाता रहेका छन्। आयोगले निर्वाचनको सबै तयारी पूरा भएको जनाएको छ।



