साउन ४,काठमाडौं: राजस्व अनुसन्धान विभागले बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब सय किलो सुन बरामद गरेको प्रकरणमा थप एक जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
चिनियाँ नागरिक जिक्वाङ लिनलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको हो। उनी तिब्बत एयरबाट चीन भाग्न लागेको अवस्थामा प्रहरीले विमानस्थलबाट पक्राउ गरेको हो।
विमानस्थल सुरक्षा प्रहरी कार्यालयले उनलाई बिहीबार दिउँसो पक्राउ गरेको हो। उनलाई पक्राउ गर्नका लागि राजश्व अनुसन्धान विभागले अध्यागमन विभागलाई जानकारी गराएको थियो। अध्यागमनले विमानस्थल प्रहरीलाई दिएको सूचनाका आधारमा पक्राउ गरिएको बताइएको छ ।
भन्सार छली गरी ल्याएको उक्त सुन प्रकरणमा बुधबार साँझ दुई र बिहीबार बिहान ४ गरी ६ जना यसअघि नै पक्राउ परिसकेका छन्। सुन प्रकरणमा अनुसन्धान गरिरहेको नेपाल प्रहरी र भन्सार विभागका अनुसार उक्त प्रकरणमा हालसम्म दोलखाका रामकुमार भुजेल, दिलिप भुजेल, भोजपुरका हर्कराज राई, भारतीय नागरिक थाप्तेन छिरिङ, एजेन्ट राजन राई र ट्याक्सी ड्राइभर अशोक लामा गरी ६ जना पक्राउ परेका हुन्। यससँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या ७ पुगेको छ।



