साउन ५, काठमाडौं : भोलि काठमाडौं र ललितपुरका विभिन्न स्थानमा विद्युत प्रभावित हुने भएको छ। आज नेपाल विद्युत प्राधिकरणले एक सूचना जारी गरी साउन ६ गते बिहान ८:३० बजेदेखि दिउँसो ४:३० बजेसम्म विद्युत आपूर्ति बन्द हुने जानकारी दिएको हो। नेपाल विद्युत प्राधिकरणको टेकु सबस्टेसनबाट आपूर्ति हुँदै आएको बिजुली साउन ६ गते ८ घण्टासम्म बन्द हुने भएको छ।
सूचनामा लेखिएअनुसार बागमती फिडर अन्तर्गत सानेपा राममन्दी, गुसिंगाल, एडभान्स कलेज, अमरावती सानेपामा मोड, रेडियन्ट स्कुल क्षेत्रमा बिजुली आपूर्ति बन्द हुनेछ। प्राधिकरणले ती क्षेत्रहरूमा वैकल्पिक व्यवस्थाबाट विद्युत् आपूर्ति कम प्रभावित हुनेगरी सबै फिडरमा नियमित विद्युत् आपूर्तिको प्रयास गरिने र निर्धारित समयअघि काम सकिए लाइन सुचारू गर्ने जानकारी गराएको छ।



