साउन ५,काठमाडौं : काठमाडौँ महानगरपालिकाले त्रिभुवन विमानस्थल परिसरको पार्किङ क्षेत्रमा पार्किङ शुल्क तोकेको छ। पार्किङ शुल्कमा एकरुपता ल्याउनका लागि महानगरले विमानस्थलमा सञ्चालति पार्किङको शुल्क निर्धारण गरेको हो।
त्रिभुवन विमानस्थलले पार्किङ सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिएको छ।सेवाग्राहीसँग बढी शुल्क लिइरहेको गुनासो र सूचना आएपछि पार्किङ शुल्क तोकिएको महानगरले जनाएको छ। महानगरको आर्थिक ऐन २०८०/८१ मार्फत महानगरले दुई पाङ्ग्रे सवारी साधनका लागि आधा घण्टा पार्किङ गर्दा १५ रुपैयाँ, १ घण्टाका लागि २५ रुपैयाँ र १ घण्टाभन्दा बढी पार्किङ गर्दा हरेक १५ मिनेटको ५ रुपैयाँका दरले थप शुल्क लाग्नेछ।
यस्तै, चारपाङ्ग्रे सवारी पार्किङ गर्दा आधा घण्टाका लागि ४० रुपैयाँ र १ घण्टासम्मको ७५ रुपैयाँ र १ घण्टाभन्दा बढी पार्किङ गर्दा हरेक १५ मिनेटको १५ रुपैयाँका दरले थप शुल्क लाग्नेछ।



