साउन ११, काठमाडौं : नेपालमा हाल मनसुनसँगै बंगालको खाडीको उत्तरपश्चिम र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। आज ५ वटा प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, र सुदुरपश्चिम प्रदेशका १/२ स्थानमा हल्का वर्षा भइरहेको छ।
आज बिहान काठमाडौंको बुढानीलकण्ठ, जितपुर आसपासको विभिन्न क्षेत्रमा भारी वर्षा भएको छ। बाढी पूर्वानुमान महाशाखाले बिहान ३ बजे एक सूचना जारी गर्दै पछिल्लो दुई घण्टामा भारी वर्षा भएको जनाएको थियो। जसका कारण विष्णुमती गोंगबुमा जलसतह सतर्कता नजिक पुगेको थियो भने विष्णुमती, ईच्छुमती, धोवीखोला तटीय क्षेत्रमा खोलाको पानी सडक र बस्तीमा आउन सक्ने भएकाले बिहान ७ बजेसम्म सतर्क रहन आग्रह गरिएको थियो।
अहिले मनसुनको न्यून चापीय सरदर स्थानको आसपास अवस्थित रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित ठूलो पानी पर्ने सम्भावना छ। कोशी र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानमा हावाहुरीको पनि सम्भावना छ। राति सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
भारी वर्षाका कारण सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने महाशाखाको आकलन छ। मनसुनको समयमा बाढी, पहिरो,चट्याङ्ग, हावाहुरी, भूक्षयको सम्भावना हुने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।



