साउन १४,काठमाडौं : सुनसरीको धरान उपमहानगरपालिकामा डेंगुको सङ्क्रमण तीव्र गतिमा फैलिरहेको छ। धरानमा हालसम्म डेंगुको सङ्क्रमणबाट ८ जनाको मृत्यु भएको छ।
धरान उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत उमेश मेहताले हालसम्म धरानमा मात्रै २ हजार ३५३ जना सङ्क्रमित भएका जानकारी दिनु भयो। तीमध्ये कतिपयको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ भने सामान्य बिरामीको घरमै उपचार भइरहेको उहाँले बताउनु भयो।
धरानमा वैशाख अन्तिमदेखि डेंगुको प्रकोप बढ्न थालेको हो। अहिलेसम्म ३ हजार ९८१ जनाको परीक्षण गरिएको छ। त्यसमध्ये ५९ प्रतिशतमा डेंगु देखिएको मेहताले बताउनु भयो। धरान उपमहानगरपालिकाले डेंगु नियन्त्रणको लागि भन्दै ‘सर्च एण्ड डिस्ट्रोय’लाई नै प्राथमिकता दिएको छ। यद्यपि उक्त अभियान प्रभावकारी नदेखिएको कतिपयको भनाइ छ।
‘सर्च एण्ड डिस्ट्रोय’ अभियानमा धरानमा २४० वटै टोल विकास संस्थालाई परिचालन गरिएको मेहताले जनाए। उहाँले हाल देखिएको डेंगुले महामारीको रूप लिन सक्ने र धरानको ११, १५, १७ र १८ नम्बर वडा बढी प्रभावित देखिएको छ। डेंगु तीव्र गतिमा फैलिन थालेपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १ सय ५० जनासम्म अट्ने गरी डेंगुको छुट्टै वार्ड स्थापना गरिएको बताउनु भयो।



