साउन १५,काठमाडौं : रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियममा साउन २३ गतेदेखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि जारी गरेको आईपीओ साउन १४ गते आइतबार बाँडफाँड गरेसँगै सर्वसाधारणका लागि बिक्री खुला गरेको हो।
इन्स्योरेन्सले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २५७ रुपैयाँमा शेयर निष्काशन गर्न लागेको हो। इन्स्योरेन्सले जारी पूँजीको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता सेयर निष्काशन गरेको हो।
जसमध्ये १० प्रतिशत अर्थात १२ लाख कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि बाँडफाँड गरिसकेको छ। बाँकी रहेको १ करोड ८ लाख कित्तामध्ये ५–५ प्रतिशत अर्थात ६–६ लाख कित्ता सेयर कम्पनीका कर्मचारीहरु र सामूहिक लगानी कोष छुट्याइएको छ। बाँकी रहेको ९६ लाख कित्ता सेयर कम्पनीले सर्वसाधारणलाई बिक्री खुला गरेको हो।
कम्पनीले प्रिमियमबाट मात्रै १ अर्ब ७८ करोड रुपैयाँ संकलन गर्नेछ। १ करोड २० लाख कित्ताबाट संकलन हुने १ अर्ब २० करोड संकलन भएसँगै आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी ४ अर्ब पुग्नेछ।
नेपाल बीमा प्राधिकरणको निर्देशन अनुसार न्यूनतम ५ अर्ब रुपैयाँ पुँजी पुर्याउन कम्पनीले बोनस तथा हकप्रद सेयर निष्काशन गर्ने जनाएको छ। यद्यपी कम्पनीले आईपीओ निष्कासनबाट १ अर्ब ७८ करोड प्रिमियम संकलन गर्ने हुँदा बोनसबाटै पनि न्यूनतम चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुग्ने देखिन्छ।
इन्स्योरेन्सको शेयरमा लगानीकर्ताले साउन २३ गतेदेखि २६ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिभित्र पूर्ण आवेदन नपरेमा निष्काशन अवधि भदौ ५ गतेसम्म लम्बिनेछ। इन्स्योरेन्सको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५ हजार ४०० कित्ताका लागि आवेदन दिन सकिनेछ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले इन्स्योरेन्सको क्रेडिट जोखिम बहन गर्ने क्षमता मध्यमस्तरको रहेको संकेत गर्दछ।
लगानीकर्ताले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड विकास गरेको मेरो सेयर मोबाइल एप तथा ‘मेरो सेयर’ सफटवेयरबाट आवेदन दिन सक्नेछन्। नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ।



