साउन १५,काठमाडौं :सहकारीमा फसेको रकम उठाइदिन र ठगी गर्ने सहकारीलाई कारवाहीको माग गर्दै दुई पाका अभिनेत्रीहरु अनसन बसेका छन्।नेपाली फिल्मका दुई वरिष्ठ अभिनेत्रीहरु बसुन्धरा भुसाल र चैत्यदेवी माइतीघर मण्डलामा दशघण्टे अनसनमा बसेका हुन।
सहकारी पीडितले ६१ दिनदेखि माइतीघरमा जारी रहेको धर्नामा नेपाली फिल्मका दुई वरिष्ठ अभिनेत्रीहरु पनि सोमबार सहभागी भएका छन्। सोमबार राति १० बजेसम्म उनीहरुले धर्ना दिने कार्यक्रम छ।
घरखर्च चलाउन समेत मुश्किल परेको भन्दै उनीहरुले कुरा गरिरहँदा आँखामा आँसु बगाएका थिए। अभिनेत्री चैत्यदेवीले आफूले माग्दा पनि रकम नपाएको गुनासो गरिन्।
फसेको रकम झिक्न पहल गर्न भन्दै बसुन्धरा, चैत्यदेवी र भुवन चन्दले प्रधानमन्त्री देखि दलका शीर्ष नेताहरुलाई भेटिसकेका छन्। तर कहींबाट पहल नभएपछि आफूहरु धर्नामा बस्न बाध्य भएको उनीहरुले जनाएका छन्।



