कैलाली : धनगढी–खुटिया–बिपीनगर–दिपायल द्रुतमार्ग कालोपत्र गर्न थालिएको छ। सो सडक अन्तर्गत धनगढी–स्याउले खण्डमा कालोपत्र गर्न थालिएको हो।
सडक निर्माणका लागि चालु आर्थिक वर्षमा सङ्घीय सरकारले रु २५ करोड बजेट विनियोजन गरेपछि कालोपत्रको काम पनि प्रारम्भ गरिएको सडक आयोजना कार्यालयका इन्जिनियर दिनेश रैखोलाले बताउनुभयो। उक्त सडकखण्ड एक महिनाभित्रै कालोपत्र सम्पन्न हुने गरी धमाधम काम भइरहेको उहाँले जानकारी दिनुभयो।
धनगढी–स्याउले सडकखण्डको १३.४ र दिपायलको तिखा–मेल्लेख सडकखण्डको १५ किलोमिटर सडक कालोपत्रका लागि २०७८ साल वैशाखमा सम्झौता भएको थियो। हाल डोटीको दिपायल तिखा–मेल्लेख सडक-खण्डको १५ किलोमिटर सडक कालोपत्र भइरहेको छ।
आयोजना अन्तर्गत कैलालीमा ८० प्रतिशत र डोटीमा ६५ प्रतिशत कालोपत्रको काम पूरा भएको छ। धनगढी–स्याउले सडक खण्डमा खड्का–कृष्ण–नारायण–बगलामुखी जेभीसँग २०७८ मा पिपल चौतारादेखि स्याउले महेन्द्र राजमार्गभन्दा तीन किलोमिटर अगाडि १३.४ किलोमिटरमा कालोपत्र गर्न भ्याटबाहेक रु १६ करोड ४० लाखमा सम्झौता भएको इन्जिनियर रैखोलाले बताउनुभयो।



