२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

आगोले घर, अन्नपात र लत्ताकपडा खरानी भएपछि अर्घाखाँचीमा १६ परिवारको बिचल्ली

images

  • २०८१ वैशाख १०, सोमबार
  • 541
    SHARES
  • आगोले घर, अन्नपात र लत्ताकपडा खरानी भएपछि अर्घाखाँचीमा १६ परिवारको बिचल्ली

    अर्घाखाँची : अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–३ रातामाटाकी बसन्ता मल्ल आइतबार घरको खरानी सोहोर्दै हुनुहुन्थ्यो। शनिबार लागेको आगोले उहाँको घरसहित अन्नपात र लत्ताकपडा खरानी बनाएपछि उहाँ लगायत टोलका १६ परिवारको बिचल्ली भएको छ। 

    “घर एक्कैछिनमा खरानी भयो। गाँसबासको  टुङ्गो छैन। कहाँ बस्ने कहाँ खाने”, आँशु झार्दै मल्लले भन्नुभयो। 

    स्थानीय गङ्गाबहादुर विकको पनि मल्लको जस्तै पीडा छ । “घरमा रहेको गरगहना, अन्न कपडा, लालपुर्जा, नागरिकता सबै जलेर नष्ट भयो”, उहाँले भन्नुभयो, “घरमा रहेका कुनैपनि वस्तु बचाउन सकिएन।” 

    बसन्ता र गङ्गाबहादुर मात्र हैन धारापानीमा शनिबार आगलागीमा परेर घर जलेका १३ परिवार अहिले खुला आकाशमुनि बस्न बाध्य छन्। आगोले भूमिकास्थान नगरपालिका  धारापानीको रातामाटा, जाबुनडाँडा, बाजाखर्क, फलामखिल्जीलगायत गाउँमा आगोले १६ घर र १० गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दीपेन्द्र रावलले जानकारी दिनुभयो। बस्तीमा पसेको आगो निभाइए पनि वनमा अझै पूर्णरुपमा निभाउन सकिएको छैन। 

    प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले गाउँमै गएर डढेलोले घर गुमाएका परिवारलाई खाद्यान्न सामग्री वितरण गर्नुभएको छ। आगलागीबाट घर नष्ट भएका रातामाटा क्षेत्रका १६ परिवारलाई जिल्ला प्रशासन कार्यालयको पहलमा उद्योग वाणिज्य सङ्घले खाद्यान्न सामग्री उपलब्ध गराएको हो। उद्योग वाणिज्य सङ्घका जिल्ला अध्यक्ष प्रदीप मिश्रले चामल, दाल, तेल, नुनलगायत खाद्य सामग्री वितरण गरिएको बताउनुभयो।  

    आगोले गाउँनै सखाप भएको  छ। जिल्लाका विभिन्न स्थानमा शनिबार लागेको आगलागीबाट ४३ घर गोठ जलेर नष्ट भएका छन् । शनिबार भूमिकास्थान नगरपालिका, शीतगङ्गा नगरपालिका र पाणिनी गाउँपालिकामा  डढेलोले २० घर र २३ गोठ जलेर नष्ट भएका छन् भने ११ बाख्रा र ६ भैँसी मरेका छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ