२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

काठमाडौँ महानगरको कार्य सम्पादन स्वमूल्याङ्कनमा ७०.५ अंक

images

  • २०८३ भदौ ३०, मंगलबार
  • 256
    SHARES
  • काठमाडौँ महानगरको कार्य सम्पादन स्वमूल्याङ्कनमा ७०.५ अंक

    काठमाडौँ: काठमाडौँ महानगरपालिकाको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (एलजीपास)को प्रारम्भिक नतिजामा महानगरले ७०.५ अङ्क प्राप्त गरेको छ। आर्थिक वर्ष २०८२/०८३ को अवधिमा गरिएको यस स्वमूल्याङ्कनको प्रारम्भिक प्रतिवेदनलाई छलफलका लागि महानगरको कार्यपालिका बैठकमा पेश गरिएको हो।

    महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा सम्पन्न ५८ औँ कार्यपालिका बैठकमा उक्त नतिजा प्रस्तुत गरिएको थियो। बैठकमा योजना अनुगमन तथा मूल्याङ्कन एकाइका प्रमुख सुमित्रा लामिछाने सुवेदीले नतिजा सम्बन्धी प्रस्ताव पेश गर्नुभएको थियो। कार्यपालिका बैठकले प्रारम्भिक नतिजामाथि विस्तृत छलफल गर्दै थप पृष्ठपोषणका लागि जिल्ला समन्वय समितिमा पठाउने निर्णय गरेको छ।

    स्थानीय तहको संस्थागत क्षमता र सेवा प्रवाहको लेखाजोखा गर्ने एलजीपास प्रणालीमा कुल ५ वटा मूल्याङ्कन क्षेत्रहरू तोकिएका छन्। यी ५ क्षेत्रअन्तर्गत कुल १ सय वटा सूचक र प्रत्येक सूचकका २-२ वटा उपसूचकहरूका आधारमा स्थानीय तहको समग्र कार्यसम्पादनको मूल्याङ्कन गर्ने गरिन्छ।

    यस वर्षको प्राप्त नतिजाअनुसार महानगरले ४० पूर्णाङ्क रहेको सुशासन तथा संस्थागत विकासमा २९.५० अङ्क र २०/२० पूर्णाङ्क रहेका सामाजिक विकास र आर्थिक विकास क्षेत्रमा क्रमशः १४.४ र ११.३ अङ्क प्राप्त गरेको छ। त्यसैगरी, १०/१० पूर्णाङ्क तोकिएका पूर्वाधार विकासमा ८.०८ तथा वन, वातावरण र विपद व्यवस्थापन क्षेत्रमा ७.८३ अङ्क हासिल भएको छ।

    जिल्ला समन्वय समितिबाट आवश्यक समीक्षा र पृष्ठपोषण प्राप्त भएपछि महानगरपालिकाले नतिजालाई अन्तिम रूप दिनेछ। यस स्वमूल्याङ्कनले महानगरको प्रशासनिक सुशासन, पूर्वाधार तथा सेवा प्रवाहको वर्तमान स्थितिलाई प्रष्ट पार्दै आगामी दिनमा सुधार गर्नुपर्ने पक्षहरूलाई समेत औंल्याएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ