काठमाडौँ : धनुषाको जिल्ला प्रहरी कार्यालयको हिरासत फोडेर भागेका नौ थुनुवामध्ये चार जनालाई प्रहरीले पक्राउ गरेको छ। सोमबार राति हिरासतको भेन्टिलेसन फोडेर भागेका यी थुनुवामध्ये सत्यम झालाई तत्कालै जनकचोकबाट पक्राउ गरिएको थियो। थप तीन जनालाई विदेह नगरपालिकाको लखौरीस्थित धानखेतबाट पक्राउ गरिएको छ।
पक्राउ पर्नेहरुमा लागूऔषध मुद्दाका अभियुक्त धनुषाको विदेह नगरपालिका ७ का २४ वर्षीय रोशन कुमार मण्डल, सिरहा नगरपालिका १३ का ३३ वर्षीय अभास्कर कुमार यादव र अभद्र व्यवहार मुद्दाका जनकपुरधाम ४ का २२ वर्षीय विक्की कार्की रहेका छन्।
अझै फरार रहेका थुनुवाहरूमा लागूऔषध मुद्दाका जनकपुरधाम उपमहानगरपालिका २१ का अमितकुमार झा, धनुषाको विदेह नगरपालिका ७ का रञ्जित मण्डल, औरही गाउँपालिका २ का विशाल मुखिया, अभद्र व्यवहार मुद्दाका जनकपुरधाम १ का सुमित मेस्तर र नगराइन नगरपालिका २ का मनिष मण्डल रहेका छन्।



