काठमाडौं : सोमबार बिहान काठमाडौंको सितापाइलामा पार्किङमा राखिएको एक विद्युतीय कार (ईभी)मा आगो लागेको थियो। गाडीबाट ठूलो परिमाणमा धुवाँ निस्किएको थियो।
कार निर्माता कम्पनीले अनधिकृत सर्भिस सेन्टरमा मर्मत गरिएकोले प्राविधिक खराबीका कारण आगलागी भएको प्रारम्भिक निष्कर्ष निकालेको छ।
ईभीमा आगलागीको घटना संसारभर चर्चामा रहन्छ। अक्टोबर १ मा भारतको बेङ्गलुरु र अमेरिकाको फ्लोरिडामा पनि यस्ता घटना भएका थिए। यद्यपि ईभी आगलागीको घटना कम भए पनि उच्च इनर्जी डेन्सिटीका कारण सर्ट सर्किट र थर्मल रनवे जस्ता समस्याले आगलागीको जोखिम बढ्न सक्छ।
ईभी आगलागीका दुई मुख्य प्रकार छन्:
'इग्निसन फायर' र 'भ्यापर क्लाउड एक्स्प्लोजन'
इग्निसन फायर सामान्यतया सर्ट सर्किटबाट सुरु हुन्छ भने भ्यापर क्लाउड एक्स्प्लोजन ब्याट्री वा अन्य स्रोतबाट प्रज्वलनशील ग्यासहरूको कारण हुन्छ। भ्यापर क्लाउड एक्स्प्लोजन धेरै घातक मानिन्छ, तर अधिकांश घटनाहरू इग्निसन फायरकै कारण हुन्छन्।
ईभी आगलागी जोखिम न्यूनीकरणका उपायहरू:
- ब्याट्री डिजाइन र उत्पादनमा सुधार: गाडी उत्पादक कम्पनीहरूले ब्याट्रीको तापक्रम, भोल्टेज र करेन्टको नियन्त्रण गर्न अत्याधुनिक ब्याट्री म्यानेजमेन्ट सिस्टम जडान गर्नुपर्छ।
- ब्याट्री केस डिजाइन सुधार: दुर्घटनाको समयमा ब्याट्रीलाई सुरक्षित राख्न उच्च गुणस्तरको केस डिजाइन गर्नुपर्छ।
- उचित चार्जिङ अभ्यास: अनधिकृत चार्जर वा क्षति पुगेका चार्जरबाट चार्ज नगर्ने र लामो समयसम्म चार्जमा नराख्ने,
- मर्मत सम्भार: आधिकारिक सर्भिस सेन्टरमा मात्र मर्मत गराउने,
- अप्रज्वलनशील वस्तुको प्रयोग: ब्याट्री केस र गाडीको इन्टेरियरमा अप्रज्वलनशील वस्तुहरूको प्रयोग गर्ने ,
यी उपायहरूलाई ध्यानमा राख्दा ईभीको आगलागी जोखिमलाई न्यूनीकरण गर्न सकिन्छ।



