काठमाडौँ : इलेक्ट्रिक सवारी साधन (ईभी) को ब्याट्रीको मूल्य निरन्तर घट्दै छ। आगामी दुई वर्षभित्र यसमा झनै तीव्र कमी आउने प्रक्षेपण गरिएको छ। गोल्डम्यान साचले हालै सार्वजनिक गरेको अध्ययन अनुसार सन् २०२६ सम्ममा ईभी ब्याट्रीको मूल्य करिब ५० प्रतिशतले घट्नेछ।
सन् २०२२ मा ग्लोबल रूपमा प्रति किलोवाट आवर ब्याट्रीको औसत मूल्य १ सय ५३ डलर रहेकोमा सन् २०२३ मा १ सय ४९ डलरमा झरेको थियो। यो प्रवृत्ति जारी रहँदा सन् २०२६ सम्म प्रति किलोवाट आवर मूल्य ८० डलरमा झर्ने सम्भावना छ।
विश्लेषकहरूले दुई मुख्य कारणले ब्याट्रीको मूल्यमा गिरावट आउने बताइएका छन्:
- प्रविधिको विकास: ठूलो सेल र सेल–टु–प्याक टेक्नोलोजीले ब्याट्री मोड्युलको संख्यामा कमी ल्याउँछ। यसले उत्पादन लागत घटाउनुका साथै ब्याट्रीको इनर्जी डेन्सिटी ३० प्रतिशतसम्म बढाउनेछ।
- कच्चा पदार्थको सस्तो मूल्य: लिथियम र कोबाल्टजस्ता कच्चा पदार्थको मूल्यमा कमी आउनेछ। गोल्डम्यान साचले सन् २०३० सम्म यी पदार्थको मूल्य ४० प्रतिशतसम्म घट्ने भविष्यवाणी गरेको छ।
गोल्डम्यान साचको अघिल्लो प्रतिवेदनले पनि सन् २०२३ र २०२५ बीच ईभी ब्याट्रीको मूल्यमा ४० प्रतिशत गिरावट हुने प्रक्षेपण गरेको थियो। यसका आधारमा सन् २०३० सम्म अमेरिकी बजारमा ईभी सवारी साधनको प्रयोग करिब ५० प्रतिशतले बढ्ने अनुमान छ।
यद्यपि महामारीको समयमा सप्लाई चेनमा समस्या आएको भए पनि ईभी ब्याट्रीको मूल्य घटिरहेको देखिएको छ। सन् २००८ मा टेस्ला रोडस्टरको बजार प्रवेशसँगै ईभी युगको सुरुवात भएको थियो। त्यसयता अमेरिकाको इनर्जी डिपार्टमेन्टका अनुसार ईभी ब्याट्रीको मूल्यमा ९० प्रतिशतले कमी आइसकेको छ।
यी तथ्यहरूले ईभी सवारी साधनहरू अझ किफायती र सर्वसुलभ हुने सम्भावनालाई बलियो बनाएका छन्।



