काठमाडौं : चिनियाँ अटो निर्माता चेरीले विश्वकै पहिलो र ठूलो सोलिड-स्टेट ब्याट्री उत्पादन गर्ने कारखाना निर्माणलाई अन्तिम चरणमा पुर्याएको दाबी गरेको छ। यस कारखानाले १ गिगावाट आवर क्षमताको सोलिड-स्टेट ब्याट्री उत्पादन गर्ने पहिलो प्रोजेक्टको रुपमा परिचित हुने बताइएको छ।
उक्त कारखाना चिनको वुहु इकोनोमिक एन्ड टेक्नोलोजिकल डेभलपमेन्ट जोनमा निर्माण हुँदैछ। परियोजनाको पहिलो चरणमा १ लाख वर्गमिटर क्षेत्रफलमा फैलिएको यो कारखाना आगामी दिनमा विस्तार गरी ५ गिगावाट आवर उत्पादन क्षमतासम्म पुर्याइने योजना बनाइएको छ।
साझेदारी र प्रविधिगत प्रगति
चेरीले यस परियोजनाका लागि थाइल्यान्ड र जापानी कम्पनीहरूसँग साझेदारी गरेको छ। कारखाना चरणबद्ध रूपमा तीन पुस्ताका सोलिड-स्टेट ब्याट्री उत्पादन गर्नेछ।
- पहिलो पुस्ताका ब्याट्रीहरू केही महिनाभित्रै उत्पादनमा आउनेछन्, जसको इनर्जी डेन्सिटी २ सय ८० वाट आवर प्रति किलोग्राम हुनेछ।
- दोस्रो पुस्ताका ब्याट्रीहरू २०२५ सम्ममा तयार गरिने छन्, जसमा ४ सय वाट आवर प्रति किलोग्राम इनर्जी डेन्सिटी हुनेछ।
- तेस्रो पुस्ताका ब्याट्रीहरू २०२७ मा सार्वजनिक गरिनेछ, जसको इनर्जी डेन्सिटी ५ सय वाट आवर प्रति किलोग्राम पुग्ने बताइएको छ।
वातावरणमैत्री र उन्नत प्रविधि
सोलिड-स्टेट ब्याट्रीहरू परम्परागत ब्याट्रीहरूको तुलनामा बढी सुरक्षित, वातावरणमैत्री र उच्तम इनर्जी डेन्सिटीयुक्त मानिन्छन्। यसै कारण, यो प्रविधिमा चेरीसहित अन्य थुप्रै कम्पनीहरू जस्तै सिएटिएल काम गरिरहेका छन्।
प्रमुख ब्रान्डहरूसँगको सहकार्य
चेरीले उत्पादन गर्ने सोलिड-स्टेट ब्याट्री टोयोटा, हुन्डाई, मर्सिडीज बेन्ज र फक्सवागन जस्ता प्रमुख ब्रान्डहरूले आफ्नो विद्युतीय सवारीसाधन (EV) मा प्रयोग गर्ने सहमति जनाइसकेका छन्।
यो परियोजनाले सोलिड-स्टेट ब्याट्री प्रविधिको वैश्विक उन्नतिलाई थप गति दिने अपेक्षा गरिएको छ।



