काठमाडौँ : विद्युतीय स्कुटर निर्माता एथरले अब आफ्ना ब्याट्री प्याकहरूमा ८ वर्ष वा ८० हजार किलोमिटरको विस्तारित वारेन्टी उपलब्ध गराउने घोषणा गरेको छ। यो सुविधा प्रो प्याक रोज्ने ग्राहकहरूका लागि मात्र लागु हुनेछ।
कम्पनीले यसअघि उपलब्ध गराउँदै आएको ५ वर्ष वा ६० हजार किलोमिटर वारेन्टीलाई अब ८ वर्ष वा ८० हजार किलोमिटरसम्म पुर्याएको हो। यसका लागि ग्राहकहरूले ५ हजार भारु अतिरिक्त भुक्तानी गर्नुपर्नेछ। प्रो प्याक योजनाले ब्याट्रीको गहिरो डिस्चार्जलाई कभर गर्ने र ८ वर्षसम्म ब्याट्री हेल्थ ७० प्रतिशत सुनिश्चित गर्ने जनाइएको छ।
प्रो प्याकको मूल्य स्कुटरको मोडेल अनुसार १३ हजारदेखि २० हजार भारुसम्म रहनेछ। यसअघि यो योजना ८ हजारदेखि १५ हजार भारुमा उपलब्ध थियो।
प्रो प्याकले वारेन्टी मात्र नभई थप सुविधा पनि प्रदान गर्नेछ, जसमध्ये राइडिङ मोड, गाइड–मी–होम लाइट, कोस्टिङ रेजेन, नेभिगेसन, चोरीबारे सूचनाहरू, सवारी तथ्याङ्क र अन्तर–शहर पार्किङ जस्ता विशेषताहरूमा ग्राहकले पहुँच पाउनेछन्।
एथरका स्कुटर नेपाली बजारमा पनि उपलब्ध छन्। यस ब्रान्डको बिक्री-वितरण नेपालमा बैद्यज इनर्जीले गर्दै आएको छ। भारतमा सुरु गरिएको यो विस्तारित वारेन्टी योजना नेपालमा पनि लागू हुने अपेक्षा गरिएको छ, जसले नेपाली ग्राहकहरूलाई थप सुविधा प्रदान गर्नेछ।



