काठमाडौँ : मारुती सुजुकीले ३० लाख युनिट गाडी निर्यात गर्दै नयाँ कीर्तिमान कायम गरेको छ। कम्पनीले हालै सेलेरियो, फ्रन्क्स, जिमनी, बलेनो, सियाज, डिजायर र एस–प्रेसोजस्ता मोडलहरू समावेश गरी १ हजार ५३ युनिट गाडी निर्यात गरेर यो उपलब्धि हासिल गरेको हो।
सन् १९८६ देखि भारतमा उत्पादित गाडीहरू निर्यात गर्दै आएको मारुती सुजुकीले आफ्नो पहिलो निर्यात ५ सय युनिटको लट हंगेरी पठाएर सुरु गरेको थियो।
सन् २०१३ सम्म १० लाख युनिट निर्यात गर्न सफल कम्पनीले त्यसपछिका ८ वर्षमा २० लाख युनिट गाडी निर्यात गर्यो। २०२१ पछि भने कम्पनीले ३ वर्ष ९ महिनाभित्र थप १० लाख युनिट गाडी निर्यात गर्दै ३० लाख युनिटको कीर्तिमान तोकेको छ।
भारतबाट निर्यात हुने प्यासेन्जर गाडीमा ४० प्रतिशत हिस्सा ओगटेको मारुती सुजुकीले आगामी सन् २०३०–३१ सम्म वार्षिक निर्यात ७ लाख ५० हजार युनिट पुर्याउने लक्ष्य राखेको छ।
कम्पनीले हाल विश्वका १ सय भन्दा बढी देशमा आफ्ना १७ मोडल निर्यात गर्दै आएको छ। यसको उत्पादन ल्याटिन अमेरिका, अफ्रिका, एशिया र मध्यपूर्वका देशहरूमा विशेष लोकप्रिय रहेको छ।
यो उपलब्धि कम्पनीको विश्वव्यापी बजारमा पहुँच र भारतमा उत्पादित गाडीहरूको गुणस्तरको प्रमाण हो। मारुती सुजुकीले आगामी दिनमा आफ्नो निर्यात क्षमता अझै विस्तार गर्दै विश्व बजारमा आफ्नो स्थान मजबुत बनाउने लक्ष्य राखेको छ।



