काठमाडौं : नाडा अटोमोबाइल्स एसोसिएसनले चिनियाँ काउन्सिल फर द प्रमोशन अफ इन्टरनेशनल ट्रेड (सीसीपीआईटी) सँग दुई बुँदे समझदारी पत्रमा हस्ताक्षर गरेको छ। यो सम्झौता प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा बेइजिङमा सम्पन्न भएको हो।
नाडाले जानकारी दिएअनुसार समझदारीको मुख्य उद्देश्य नेपाल-चीन अटोमोबाइल व्यापार र सहकार्यलाई प्रवर्द्धन गर्नु हो। यस सम्झौताले दुई देशबीच आर्थिक सम्बन्धलाई सुदृढ बनाउन, व्यापार प्रवर्द्धन गर्न र अटोमोबाइल उद्योगमा दीर्घकालीन विकासका सम्भावनाहरू अघि बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
समझदारीमा अटोमोबाइल क्षेत्रमा व्यापार र सहकार्यलाई प्रोत्साहित गर्न व्यापार मेलाहरूको आयोजना, व्यावसायिक प्रतिनिधि मण्डलहरूको आदानप्रदान र नीति वकालत जस्ता संयुक्त पहलहरूमा जोड दिइएको छ।
यसका साथै नाडाले नेपालका अटोमोबाइल क्षेत्रमा लगानीका सम्भावना पहिचान गर्न, व्यापार मेला आयोजना गर्न र चिनियाँ व्यापारीलाई नेपाली बजारमा सहयोग पुर्याउन जिम्मेवारी लिनेछ। चिनियाँ व्यवसायीहरूले नेपालमा चिनियाँ लगानी प्रबर्द्धन गर्ने, प्रविधि आदानप्रदान गर्ने र संयुक्त कार्यक्रमहरू सञ्चालन गर्न प्रतिबद्धता जनाएका छन्।
यो सम्झौताले नेपाल र चीनबीचको अटोमोबाइल क्षेत्रको सहकार्यलाई अझ सुदृढ गर्दै दुवै देशका उद्यमीहरूलाई नयाँ अवसरहरूको ढोका खोल्ने विश्वास लिइएको छ।



