काठमाडौँ : चिनियाँ अटो निर्माता जिकरले ४ लाख युनिट ईभी उत्पादनको महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। जिली अन्तर्गतको यो प्रिमियम ईभी ब्रान्डले ३ वर्ष १ महिनामा यो माइलस्टोन पूरा गरेको हो। सन् २०२१ को अक्टोबरबाट उत्पादन सुरु गरेको जिकरसँग हाल ६ वटा मोडल उपलब्ध छन्।
जिकरको बिक्री पछिल्लो समय तीव्र रूपमा वृद्धि भइरहेको छ। कम्पनीले यो वर्ष जनवरीदेखि नोभेम्बरसम्म १ लाख ९४ हजार ९ सय ३३ युनिट ईभी बिक्री गरेको छ। यो संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८५ प्रतिशतले बढी हो।
४ लाखौँ उत्पादनका रूपमा जिकरले मिक्स मिनी भ्यान निर्माण गरेको छ। यो भ्यानलाई क्याबिन स्पेसको अधिकतम प्रयोगको लागि डिजाइन गरिएको छ, जसले ९३ प्रतिशतसम्म क्याबिन स्पेस प्रयोग गर्न सक्ने दाबी गरिएको छ। स्लाइडिङ डोर भएको यो भ्यान विश्वकै सबैभन्दा धेरै क्याबिन स्पेस भएको ईभी भ्यान मानिएको छ।
मिक्स मिनी भ्यानमा ७६ किलोवाट आवरको एलएफपी ब्याट्री र १ सय २ किलोवाट आवरको एनएमसी ब्याट्री प्रयोग गरिएको छ। यसले सिंगल चार्जमा ७ सय किलोमिटरसम्म रेन्ज दिने दाबी गरिएको छ। जिकरले वार्षिक १ लाख युनिट मिक्स मिनी भ्यान उत्पादन गर्ने लक्ष्य राखेको छ।
नेपालमा पनि जिकर प्रिमियम ईभी ब्रान्ड लोकप्रिय हुँदै गइरहेको छ। हालै नेपाली बजारमा भित्रिएको जिकर एक्स मोडल उच्च मागमा छ। यसमा ६६ किलोवाट आवरको ब्याट्री प्रयोग गरिएको छ, जसले सिंगल चार्जमा ४ सय ४० किलोमिटरसम्म रेन्ज दिने दाबी गरिएको छ।
यो मोडल रियर ह्विल ड्राइभ सिंगल मोटर र अल ह्विल ड्राइभ डुअल मोटर दुई भेरिएन्टमा उपलब्ध छ। यसको मूल्य क्रमशः ८५ लाख र १ करोड ५५ लाख रुपैयाँ तोकिएको छ।
जिकरको आधुनिक डिजाइन, प्राविधिक क्षमताहरू र उन्नत ब्याट्री प्रविधिले यसलाई नेपाली उपभोक्ताहरूका लागि आकर्षक बनाएको छ।



