काठमाडौँ : एक्सपेङले चितवनमा नयाँ शोरुम खोलेको छ। नेपालका लागि आधिकारिक वितरक सिजी मोटर्सले चितवन क्षेत्रका लागि यूरो मोटर्सलाई आधिकारिक डिलर नियुक्त गरेपछि यो शोरुम संचालनमा आएको हो। काठमाडौँ र पोखरामा सफलतापूर्वक शोरुम स्थापना गरेपछि कम्पनीले चितवनमा पनि आफ्नो उपस्थिति विस्तार गरेको छ।
नयाँ शोरुम उद्घाटनसँगै, कम्पनीले एक्सपेङको जी६ मोडल पनि सार्वजनिक गरेको छ। यो कारमा स्मार्ट प्रविधि र दिगो डिजाइनलाई प्राथमिकता दिइएको छ। साथै, यसले ई–एनक्यापको ५–स्टार सुरक्षा रेटिङ हासिल गरेको छ।
कारका मुख्य विशेषताहरूमा स्वचालित ड्राइभिङ प्रविधि, एसईपिए २.० संरचना, नियमित ओटिए अपडेटहरू, एक्सओएस अपरेटिङ सिस्टम र ८ सय भोल्ट सुपर–फास्ट चार्जिङ सुविधा रहेका छन्।
यसमा ६६ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ, जसले एक पटकको चार्जमा ४ सय ३५ किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ। कारको पावर १ सय ९० किलोवाट र टर्क ४ सय ४० एनएम रहेको छ।
चितवनमा सार्वजनिक गरिएको एक्सपेङ जी६को मूल्य ८५ लाख रुपैयाँ निर्धारण गरिएको छ।



