काठमाडौँ : काठमाडौँ महानगरपालिकाले संस्थागत (निजी) विद्यालयहरूमा कक्षा ११ र १२ अध्ययन गर्न चाहने विद्यार्थीका लागि छात्रवृत्तिको अनलाइन आवेदन खुला गरेको छ।
महानगरपालिकाको शिक्षा विभागले बुधबार सूचना जारी गर्दै परीक्षा प्रणालीमार्फत योग्य विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने जनाएको छ। इच्छुक विद्यार्थीले जेठ १ गते बिहान १० बजेदेखि जेठ १० गते राति ११:५९ बजेसम्म महानगरपालिकाको आधिकारिक वेबसाइटमार्फत आवेदन दिन सक्नेछन्।
छात्रवृत्ति छनोटका लागि जेठ १७ गते बिहान ८ बजेदेखि १० बजेसम्म परीक्षा सञ्चालन हुनेछ। उक्त परीक्षामा माध्यमिक तह (कक्षा १०) को पाठ्यक्रममा आधारित १०० वस्तुगत बहुवैकल्पिक प्रश्नहरू सोधिनेछ।
गत शैक्षिक सत्रमा मात्र २० हजारभन्दा बढी विद्यार्थीले छात्रवृत्ति पाएका थिए। कानुन कार्यान्वयनको पहिलो वर्ष १३ हजार, दोस्रो वर्ष १९ हजार र गत वर्ष कक्षा १ देखि १२ सम्मका २० हजार २ सय ८२ विद्यार्थीले यो सुविधा प्राप्त गरेका थिए।
महानगरपालिकाले शिक्षा ऐन र कानुनको कडाइका साथ कार्यान्वयन गर्दा छात्रवृत्ति पाउने विद्यार्थीको सङ्ख्यामा हरेक वर्ष उल्लेख्य वृद्धि भइरहेको जनाएको छ।



