काठमाडौँ : काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको 'नाइमा नेपाल मोबिलिटी एक्स्पो' को पहिलो दिन नै उल्लेख्य जनसहभागिता देखिएको छ। आयोजकका अनुसार मङ्गलवारदेखि सुरु भएको यस एक्स्पोको पहिलो दिन २९ हजारभन्दा बढी दर्शकले अवलोकन गरेका छन्। बिहान ११ बजेबाट औपचारिक रूपमा खुला गरिएको भए पनि दिउँसोदेखि सर्वसाधारणका लागि प्रवेश खुला गरिएको थियो।
मेलाको पहिलो दिन नै विभिन्न ब्रान्डका कम्पनीहरूले ४८ वटा नयाँ उत्पादनहरू सार्वजनिक गरेका छन्। एक्स्पोमा दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे सवारी साधनहरूमा कार, भ्यान, जिपसँगै कमर्सियल प्रयोजनका ठूला बसहरू समेत सार्वजनिक गरिएको छ, जसले आगन्तुकहरूको विशेष ध्यान खिचेको छ।
पहिलो दिन देखिएको यो आकर्षक उपस्थिति र उत्साहजनक सहभागिताले आयोजकलाई थप उत्साहित बनाएको छ। आयोजक संस्था नाइमाले पहिलो दिनको सफलतालाई आधार मान्दै आगामी दिनहरूमा अझ बढी दर्शकको भिड लाग्ने विश्वास व्यक्त गरेको छ। पाँच दिनसम्म चल्ने यस एक्स्पोको अवधिभर कुल डेढ लाखभन्दा बढीले अवलोकन गर्ने अपेक्षा राखिएको छ।



