काठमाडौँ : भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा भारी वर्षाका बाबजुद पनि अवलोकनकर्ताको भीड लागेको छ। नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले मंगलबारदेखि आयोजना गरेको एक्स्पोको ३ दिन भारी वर्षा भए पनि उल्लेख्य संख्यामा अवलोकनकर्ता पुगेका थिए।
३ दिनमै ७७ हजारभन्दा बढीले मेला अवलोकन गरेका छन्। मेलाको पहिलो दिन २९ हजार, दोस्रो दिन २६ हजार र तेस्रो दिन २२ हजारभन्दा बढीले एक्स्पो अवलोकन गरेका हुन्। मेलामा ५५ भन्दा बढी ब्रान्डका सवारी साधन प्रदर्शनीमा राखिएका छन्। नयाँ–नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरेर वितरक कम्पनीहरुले अवलोकनकर्तालाई आफ्नो स्टलमा आकर्षित गरिरहेका छन्।
विकल्प धेरै भएकाले मेलास्थल पुगेका अवलोकनकर्तालाई भने जस्तो सवारीसाधन छान्न सहज भएको छ। 2 पाङ्ग्रेमा पनि अवलोकनकर्ताको उल्लेख्य भीड लागेको थियो। विशेषगरी महँगा ब्रान्डमा युवाको आकर्षण देखिएको छ।



