काठमाडौँ : टाटा मोटर्सको प्रतीक्षित एसयूभी सिएरा ईभी नेपाल आइपुगेको छ । टाटाका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले सिएरा ईभी नेपाल भित्र्याएको हो ।
एसयूभी सिएरा ईभी भारतीय बजारमा निकै सफल मोडल हो । कम्पनीले यही ९ भदौदेखि काठमाडौंमा सुरु हुने नाडा अटो शोमा सिएरालाई प्रदर्शन गर्ने भएको छ । भारतीय उत्पादनको सिएरा ईभी आकर्षक डिजाइन र प्रविधिसहितको उत्कृष्ट उत्पादन हो ।
सिएरा ईभीमा ६३ किलोवाट आवर र ७५ किलोवाट आवरका दुई ब्याट्री विकल्प उपलब्ध हुनेछन् भने सिंगल मोटर र डुअल मोटर विकल्पमा पनि गाडी उपलब्ध गराइएको कम्पनीले जनाएको छ । गाडीमा ७.२ किलोवाटको एसी फास्ट वाल चार्जर उपलब्ध गराइएको छ, जसमा ३.३ किलोवाटको पोर्टेबल चार्जर पनि उपलब्ध हुने कम्पनीले जनाएको छ ।
सिएरा ईभीको ह्वीलबेस २ हजार ७३० मिलिमिटर रहेको छ भने ग्राउन्ड क्लियरेन्स २०५ एमएम रहेको छ । यसलाई उत्कृष्ट एसयूभीका रूपमा लिइएको छ । कम्पनीले नयाँ उपलब्ध एसयूभी सिएरासँगै न्यू टियागो र न्यू पन्चलाई पनि अटो शोमा प्रदर्शन गर्ने तयारी गरेको छ ।



