काठमाडौँ ; काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौँलाई डर वा त्रासले नभई नागरिक चेतना र जिम्मेवारीका आधारमा विधिको पालना गर्ने सहर बनाउने दिशामा महानगर अघि बढेको बताउनुभएको छ।
राष्ट्रिय सभा गृहमा आयोजित महानगर प्रहरी बलको ३४ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख डंगोलले सहरी सुव्यवस्थापन र शान्ति सुरक्षाका लागि अन्य सुरक्षा निकायहरूसँगको बलियो समन्वयबाट लक्ष्य हासिल गरिने स्पष्ट पार्नुभयो।
कार्यक्रममा बोल्दै डंगोलले महानगर प्रहरी बलको सार्वजनिक छवि गर्व गर्न लायक रहेको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, "शासन र व्यवस्थापनमा नागरिक सहभागी भएर सँगै काम गर्ने प्रणालीमा आधारित सहर निर्माणमा सबैको साथ आवश्यक छ। महानगर प्रहरी अब समान क्षेत्राधिकार भएका संयन्त्रहरूसँग सहकार्य गर्दै अझ बढी प्रविधिमैत्री र नागरिक केन्द्रित बन्नेछ।"
उहाँले महानगर प्रहरी कानुन कार्यान्वयन र अनुशासनका मामिलामा दृढ हुनुका साथै हृदयमा मानवीय संवेदनशीलता र मानव अधिकारप्रति प्रतिबद्ध रहनुपर्नेमा जोड दिनुभयो।
३४ औँ वार्षिकोत्सवका अवसरमा आयोजना गरिएको विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने नगर प्रहरीहरूलाई सम्मान गरियो।
कार्यक्रममा :
-
महानगर प्रहरी गौरव
-
उत्कृष्ट महानगर प्रहरी
-
महानगर प्रहरी पुरस्कार
विभिन्न क्षेत्र र सेवामा उत्कृष्ट योगदान पुर्याउने प्रहरी कर्मचारीहरूलाई प्रदान गरिएको थियो। महानगर प्रहरी बललाई थप जनमुखी, मर्यादित र प्रविधिमैत्री बनाएर सहरी व्यवस्थापनलाई प्रभावकारी बनाउने प्रतिबद्धताका साथ वार्षिकोत्सव समारोह सम्पन्न भएको छ।
कार्यक्रमका केही झलकहरू :












