मङ्सिर १०, लमजुङ : लमजुङको बेसिशहरमा रहेको कालिका बचत तथा ऋण सहकारीको रकम अपचलन गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। कालिका सहकारीका सञ्चालकहरूका विरुद्धमा २० भन्दा बढी सहकारी पीडितहरूले प्रहरीमा जाहेरी दिएका थिए। कालिका सहकारीका सञ्चालकहरुले झन्डै १० करोड रुपैयाँ बढिको आर्थिक हिनामिना गरेको पाइएको छ।
बेसीशहरमा ०५६ सालदेखि सञ्चालनमा रहेको कालिका सहकारीमा सञ्चालकले आर्थिक हिनामिना गरेको उजुरी परेपछि सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशले छानबीन गर्दा सञ्चालकले ठगी गरेको तथ्य खुलेको हो।
बेसीशहर सेरामा मुख्य कार्यालय रही कालिका सहकारी केहि महिनादेखि बन्द रहेको कालिका बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सहित ६ जनालाई सहकारीको रकम अपचलन गरेको आरोपमा प्रहरीले आइतबार बिहान पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सहकारीका अध्यक्ष शिवराम सिलुवाल, उपाध्यक्ष श्रीकृष्ण लामिछाने, सचिव कृष्ण केसी, सदस्य मिलन शर्मा दनाई, प्रमुख कार्यकारी अधिकृत वेदराज खनिया र लेखापरीक्षक महेन्द्र शर्मा पौडेल रहेका छन्। ८ जना बिरुद्ध पक्राउ पुर्जी जारी भएकोमा कालिका सहकारीका पूर्व अध्यक्ष मृगेन्द्र घिमिरे र उनको श्रीमती सहकारीका कोषाध्यक्ष विनिता घिमिरे भने फरार रहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जानकारी दिनुभयो।



