काठमाडौँ : बेरोजगार युवालाई वैदेशिक रोजगारीमा पठाउने बहानामा लाखौँ ठगी गरेका ४ जना पक्राउ परेका छन्। करोमानिया पठाइदिन्छु भन्दै रु २१ लाख ३६ हजार ठगी गरेको अभियोगमा दोलखा मेलुङ गाउँपालिका–२ घर भई काठमाडौँ महानगरपालिका–२४ बाङ्गे मुढा बस्ने ५० वर्षीय ढालबहादुर बुढाथोकी पक्राउ परेका छन्।
अभियुक्त बुढाथोकीले १४ जना युवालाई वैदेशिक रोजगारीका लागि रोमानिया पठाई फुड प्याकिङमा मासिक रु १ लाख तलब प्राप्त हुने प्रलोभनमा पारी पटक पटक गरेर उक्त रकम ठगी गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
यसै गरी कतार पठाइदिन्छु भन्दै रु २ लाख ९४ हजार ठगी गरेको अभियोगमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१ का कैलाश गिरीलाई पक्राउ गरिएको छ। निजले वैदेशिक रोजगारीका लागि कतार पठाइ दिने र मासिक रु ८० दिलाउने भन्दै उक्त रकम ठगेका हुन्।
यसैबिच, स्लोभेनिया पठाइदिने बहानामा रु २ लाख ८० हजार ठगी गरेको अभियोगमा धादिङका जयराज शाही र गोरखा चुमनुव्री गाउँपालिका–४ की ३५ बर्सिया छिमी सुनिनलाई पक्राउ गरिएको छ। सबै अभियुक्तलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग चलान गरिएको छ।



